तेह्रथुमको आठराई गाउँपालिकाले
आर्थिक वर्ष २०८२/०८३ मा चार करोडभन्दा बढी बजेट फिर्ता भएको विषयमा सार्वजनिक
रूपमा स्पष्टीकरण दिएको छ। सामाजिक सञ्जालमा गाउँपालिकाले बजेट कार्यान्वयन गर्न
नसकेको भन्दै आलोचना भएपछि कार्यवाहक उपाध्यक्ष बलिराज इङ्नामले शुक्रबार विज्ञप्ति
जारी गर्दै फिर्ता भएको रकमको वास्तविक कारण स्पष्ट पारेका हुन्।
गाउँपालिकाका अनुसार गत आर्थिक
वर्षमा विभिन्न शीर्षकमा प्राप्त ३८ करोड ७ लाख २१ हजार रुपैयाँमध्ये ३४ करोड २
लाख ७ हजार ५९० रुपैयाँ खर्च भएको छ। खर्च हुन नसकेको ४ करोड ५ लाख १३ हजार ४०९ रुपैयाँ
भने नियमानुसार फिर्ता गरिएको हो।
फिर्ता भएको रकममध्ये सबैभन्दा
धेरै ३ करोड ३७ लाख ३९ हजार ६७१ रुपैयाँ संघीय सरकारको सशर्त चालु अनुदानअन्तर्गत
रहेको गाउँपालिकाले जनाएको छ। उक्त बजेट शिक्षक तथा कर्मचारीको पारिश्रमिकका लागि
विनियोजन गरिए पनि स्वीकृत दरबन्दी रिक्त रहेकाले खर्च हुन नसकेको विज्ञप्तिमा
उल्लेख छ।
गाउँपालिकाले संघीय तथा प्रदेश
सरकारबाट प्राप्त सशर्त, विशेष र समपूरक अनुदान तोकिएका कार्यक्रम र
कार्यविधिअनुसार मात्रै खर्च गर्न पाइने भएकाले अन्य शीर्षकमा रकमान्तर गर्न
नमिल्ने स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “आर्थिक वर्ष २०८२/०८३ को बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न नसकी फ्रिज
गरेको भनी सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति गाउँपालिकाको ध्यानाकर्षण भएको
छ। प्राप्त सशर्त अनुदान तोकिएको आयोजना तथा कार्यक्रमबाहेक अन्यत्र खर्च गर्न
कानुनी रूपमा बन्देज छ।”
गाउँपालिकाले सामाजिक सञ्जालमा
प्रचार गरिएजस्तो विकास तथा पूँजीगत बजेट फिर्ता नभएको दाबी गर्दै विकास आयोजनाका
लागि छुट्याइएको बजेट कार्यान्वयन भएको जनाएको छ। फिर्ता भएको अधिकांश रकम रिक्त
दरबन्दीका कारण खर्च हुन नसकेको तलबभत्ता शीर्षकको रहेको गाउँपालिकाको भनाइ छ।