काठमाडौं । नेपाल विद्युत्
प्राधिकरणले निर्माणाधीन तर समयमै व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत्
आयोजनाको आरसीओडी (व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति) थप गर्ने
तयारी गरेको छ।
प्राधिकरण सञ्चालक
समितिको निर्णयअनुसार आयोजनालाई भौतिक प्रगति, पीपीएमा उल्लेखित दायित्व पूरा
गरेको अवस्था र आरसीओडीको स्थितिका आधारमा 'क', 'ख', 'ग' र 'घ'
गरी चार समूहमा वर्गीकरण गरिनेछ।
समूह 'क' मा
आवश्यक दायित्व पूरा गरेका तथा समयमै उत्पादनमा आउन सक्ने आयोजना, 'ख'
मा प्रसारण लाइन वा अन्य कारणले ढिलाइ भएका तर उल्लेखनीय प्रगति
गरेका आयोजना, 'ग' मा प्रमुख दायित्व पूरा नगरेका
वा २५ प्रतिशतभन्दा कम भौतिक प्रगति भएका आयोजना र 'घ'
मा अनुमतिपत्र खारेज भएका वा आरसीओडी सकिँदासमेत आवश्यक प्रक्रिया
पूरा नगरेका आयोजना राखिनेछन्।
प्राधिकरणले भौतिक
प्रगति २०७१ को कार्यविधिअनुसार मूल्यांकन गर्ने जनाएको छ। समूह 'ख'
का आयोजनाको नियमित अनुगमन गरी आवश्यक परे पुनः वर्गीकरण गरिनेछ भने
समूह 'ग' का आयोजनालाई 'नोटिस अफ डिफल्ट' जारी गरिनेछ। सुधार नदेखिएमा पीपीए
रद्द गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणको निर्णय छ।
यो व्यवस्थाले निर्माणमा ढिलाइ भएका जलविद्युत् आयोजनाको
अवस्था स्पष्ट पार्दै आयोजना व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी
र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।