तेह्रथुम । तेह्रथुमको
खेलकुद क्षेत्रलाई नयाँ गति दिने अपेक्षाबीच जिल्ला खेलकुद विकास समिति तेह्रथुमका
नवनियुक्त उपाध्यक्ष दुर्गा सिंगक लिम्बूले औपचारिक रूपमा जिम्मेवारी
सम्हाल्नुभएको छ।
सदरमुकाम म्याङलुङस्थित
समितिको कार्यालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै उपाध्यक्ष लिम्बूले
जिल्लाको खेलकुद विकासका लागि सक्रिय, इमानदार र प्रतिबद्ध भएर काम
गर्ने बताउनुभयो। खेलाडीको क्षमता विकास, खेलकुद पूर्वाधार
विस्तार र जिल्लामा खेलकुदको वातावरण निर्माण आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ
थियो।
कोशी प्रदेश खेलकुद
विकास बोर्डले असार २१ गते लिम्बूलाई जिल्ला खेलकुद विकास समिति तेह्रथुमको
उपाध्यक्षमा नियुक्त गरेको थियो। उहाँसँगै नियुक्त भएका अध्यक्ष राजकुमार नेपालले
भने यसअघि नै जिम्मेवारी सम्हालिसक्नुभएको छ।
पदभार ग्रहण कार्यक्रममा
म्याङलुङ नगरपालिकाकी उपप्रमुख जमुना कार्की सुवेदी, प्रदेश खेलकुद विकास
बोर्डकी सदस्य देउमाता लिम्बू, पूर्व खेलाडी तथा खेलकुद
क्षेत्रका प्रतिनिधिहरूले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।
कार्यक्रममा सहभागी
पूर्व खेलाडीहरूले तेह्रथुमको खेलकुद क्षेत्र अझै अपेक्षित रूपमा अघि बढ्न नसकेको
भन्दै नयाँ नेतृत्वले योजनाबद्ध रूपमा काम गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले
स्थानीय प्रतिभाको पहिचान,
नियमित प्रतियोगिता सञ्चालन र खेलाडीलाई आवश्यक अवसर सिर्जना
गर्नुपर्नेमा जोड दिएका छन्।
नयाँ नेतृत्व आएपछि जिल्लाका खेलाडीहरूले पनि खेलकुद
क्षेत्रले नयाँ दिशा पाउने अपेक्षा गरेका छन्। सीमित स्रोतसाधनका बीच सम्भावना
बोकेका खेलाडीलाई अवसर दिन सके तेह्रथुमले प्रदेश र राष्ट्रिय स्तरमा थप पहिचान
बनाउन सक्ने विश्वास गरिएको छ।