तेह्रथुम । वैदेशिक रोजगारीबाट
स्वदेश फर्किएका नागरिकलाई आफ्नै गाउँठाउँमा उद्यम सञ्चालन गरी आत्मनिर्भर बन्न
प्रेरित गर्ने उद्देश्यले छथर गाउँपालिकाले उद्यमशीलता विकास तालिम सञ्चालन गरेको
छ। रोजगार सेवा केन्द्रमार्फत आयोजित ६ दिने तालिममा विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उपायबारे
सहभागीलाई प्रशिक्षण दिइएको छ।
गाउँपालिकाका
विभिन्न वडाबाट सहभागी बनेका युवालाई व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार विश्लेषण, लेखा व्यवस्थापन तथा उद्यम सञ्चालनका व्यावहारिक पक्षबारे जानकारी
गराइएको थियो। साथै कृषि,
पशुपालन, मौरीपालन, पर्यटन तथा घरेलु उद्योगजस्ता क्षेत्रमा रहेका सम्भावनाबारे समेत
प्रशिक्षण प्रदान गरिएको रोजगार सेवा केन्द्रले जनाएको छ।
गाउँपालिका
अध्यक्ष सन्तवीर लिम्बूले वैदेशिक रोजगारलाई मात्र विकल्पका रूपमा हेर्ने
प्रवृत्तिको अन्त्य गर्दै स्वदेशमै रोजगारी र उद्यमको वातावरण सिर्जना गर्न यस्ता
कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार विदेशबाट फर्किएका युवालाई
उद्यमी बनाउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै आर्थिक गतिविधि समेत
विस्तार हुनेछ।
तालिममा
सहभागीहरूले स्थानीय स्रोत–साधनको उपयोग गर्दै व्यवसाय सञ्चालन गर्ने योजना
प्रस्तुत गरेका थिए। यस्ता कार्यक्रममार्फत बेरोजगारी न्यूनीकरण र स्थानीय आर्थिक
विकासमा टेवा पुग्ने विश्वास गरिएको गाउँपालिकाले
जनाएको छ।