काठमाडौं । प्रधानमन्त्री
बालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको संरक्षण र प्रवर्द्धनका लागि
आवश्यक नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार म्यानुफ्याक्चरर्स
एसोसिएसन अफ नेपाल (एफएमएएन) का प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले अवैध
आयात नियन्त्रण, स्वदेशी उत्पादनको प्रवर्द्धन र
उद्योगमैत्री वातावरण निर्माणमा सरकार सक्रिय हुने बताएका हुन्।
छलफलमा व्यवसायीहरूले भारतलगायत
विभिन्न नाकाबाट हुने चोरीपैठारी, बिना बिल–बिजक आउने जुत्ता–चप्पल र
न्यून मूल्याङ्कनका आयातका कारण स्वदेशी उद्योग समस्यामा परेको गुनासो गरेका थिए।
प्रधानमन्त्री शाहले भन्सार, वाणिज्य विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको
समन्वयमा विशेष संयन्त्र बनाएर अवैध आयात नियन्त्रण गर्ने बताए। उनले आयातित
जुत्ता–चप्पलमा गुणस्तर परीक्षण, लेबलिङ र बजार अनुगमनलाई
प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाए।
व्यवसायीले कर तथा विद्युत्
शुल्कमा सहुलियत, कच्चा पदार्थ आयात सहजता र दक्ष जनशक्ति
उत्पादनका लागि सहयोग माग गरेका थिए। प्रधानमन्त्रीले निर्यातमुखी उद्योगलाई
प्रोत्साहन गर्ने गरी आवश्यक सहुलियतका विषयमा पहल गर्ने आश्वासन दिए।
नेपालमा हाल करिब १ हजार २००
जुत्ता–चप्पल उद्योग सञ्चालनमा रहेको र यस क्षेत्रले ठूलो संख्यामा रोजगारी
सिर्जना गरिरहेको व्यवसायीहरूले बताएका छन्। सरकारको सहयोग पाए स्वदेशी जुत्ता
उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने उनीहरूको भनाइ छ।