तेह्रथुम । फेदाप कला, साहित्य तथा संस्कृति
प्रतिष्ठान, नेपालद्वारा आयोजित फेदाप
क्षेत्रको भाषा, कला, साहित्य र संस्कृतिको प्रवर्द्धनसँगै जातीय एवं
सामाजिक सह–अस्तित्व विषयक अन्तरक्रिया, साहित्य तथा सांगीतिक प्रस्तुति, कवि परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।
फेदाप गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा भाषा, कला, साहित्य तथा
संस्कृतिको संरक्षण र प्रवर्द्धनका विविध पक्षबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा विभिन्न जातजाति तथा समुदायबीचको सामाजिक सद्भाव, सह–अस्तित्व र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने
विषयमा सहभागीहरूले धारणा राखेका थिए।
कार्यक्रममा स्थानीय तथा जिल्लाका साहित्यकार, कलाकार, बुद्धिजीवी, स्रष्टा तथा सरोकारवालाहरूको
उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा साहित्यिक तथा सांगीतिक प्रस्तुतिहरू
समेत प्रस्तुत गरिएको थियो भने भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा
योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ।
फेदाप कला, साहित्य तथा संस्कृति प्रतिष्ठान, नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजन तथा फेदाप
गाउँपालिकाको सहयोगमा सम्पन्न भएको हो।

