तेह्रथुम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आम्फुवा माझगाउँका हर्क थेगुवा लिम्बू र उहाँकी श्रीमती बबिता राई लिम्बूले
पाँचथरको एक विद्यालयका सयौँ विद्यार्थीको अनुहारमा खुसी छर्नुभएको छ।
लिम्बू दम्पतीले पाँचथरको फिदिम नगरपालिका ४ सालघारीस्थित श्री जागृति आधारभूत विद्यालयका विद्यार्थीका लागि तीन लाख रुपैयाँभन्दा बढी को शैक्षिक सामग्री, लत्ताकपडा तथा भोजन सहयोग
गर्नुभएको हो।
विद्यालयका प्रधानाध्यापक डिल्ली लुइटेलका अनुसार
दम्पतीले करिब दुई लाख ३० हजार रुपैयाँ
बराबरका शैक्षिक सामग्री, स्टेशनरी र लत्ताकपडा उपलब्ध गराउनुभएको छ। त्यस्तै, ७० हजार रुपैयाँ नगद सहयोग मार्फत विद्यार्थीका लागि भोजनको व्यवस्था गरिएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच फिदिम नगरपालिकाका
नगर प्रमुख मित्रप्रसाद काफ्ले र वडा नं. ४ का अध्यक्ष उपेन्द्र लाओतीले सहयोग
सामग्री विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको थियो। सहयोगदाता परिवारका तर्फबाट ऋतुराज
लिम्बूले उक्त सामग्री वितरण गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा नगर प्रमुख काफ्लेले अनाथ, असहाय तथा विपन्न बालबालिकाको शिक्षामा महत्वपूर्ण
योगदान पुर्याएको भन्दै लिम्बू दम्पतीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता
मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
कक्षा ८ सम्म अध्ययन हुने उक्त विद्यालयमा हाल ५१ जना अनाथ तथा असहाय बालबालिका आवासीय रूपमा अध्ययनरत छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङका अनुसार सहयोग
कार्यक्रमबाट विद्यालयका २४९ जना
विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्।
सहयोगदाता हर्क लिम्बूले आर्थिक अभावका कारण कुनै पनि
विद्यार्थी शिक्षा प्राप्त गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूहरूले
निरन्तर शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो।
शैक्षिक सामग्री, विद्यालय पोसाक, ट्र्याकसुट र भोजन प्राप्त
गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए। विदेशको कमाइलाई सामाजिक सेवामा
रूपान्तरण गर्ने लिम्बू दम्पतीको यो कार्यले मानवता र शिक्षाप्रतिको
उत्तरदायित्वलाई पुनः एकपटक उजागर गरेको विद्यालय प्रशासनले जनाएको छ।


