तेह्रथुम । म्याङलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का
लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई
उच्च प्राथमिकतामा राखेको छ।
नगरसभामा प्रस्तुत नीति तथा
कार्यक्रममा नगर क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै सडक तथा भौतिक
पूर्वाधारको विस्तार, कृषि
क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरण, पर्यटन प्रवर्द्धन, युवा स्वरोजगार तथा उद्यमशीलता विकासका कार्यक्रमलाई विशेष
प्राथमिकता दिइएको छ।
यसैगरी, शिक्षा तथा स्वास्थ्य सेवाको
गुणस्तर अभिवृद्धि, खानेपानी
तथा सरसफाइ,
वातावरण
संरक्षण, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका
व्यक्तिको सशक्तीकरणलाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ।
नगरपालिकाले सार्वजनिक गरेको नीति
तथा कार्यक्रमले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै आर्थिक विकास, सामाजिक न्याय तथा दिगो विकासका
लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। साथै, आगामी वर्षका विकास योजनाको
प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध, सुन्दर र आत्मनिर्भर म्याङलुङ नगर निर्माण गर्ने लक्ष्य अघि
सारिएको नगरपालिकाले जनाएको छ।
नगरसभामा
प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक सुझावसहित आगामी आर्थिक वर्षका
योजनालाई कार्यान्वयनमा लैजाने तयारी गरिएको नगरपालिकाले जनाएको छ।


