कृषि उत्पादन वृद्धि र माटोको दीगो
व्यवस्थापनलाई प्राथमिकता दिँदै लालीगुराँस नगरपालिकाले माटो परीक्षण सहजकर्ता
तालिम सञ्चालन गरेको छ। बसन्तपुरमा जारी तालिममा सहभागीहरूले माटो परीक्षण
सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्नेछन्। नगरपालिकाले यसलाई
वैज्ञानिक खेतीतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
गाउँगाउँमै माटो परीक्षणको पहुँच
विस्तार गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिममा कृषक, कृषक सहजकर्ता, कृषि प्राविधिक तथा
कृषि क्षेत्रमा सक्रिय युवा–युवतीहरूको सहभागिता रहेको छ। “नगरको खुसी
रैथाने कृषि विशेष अनुदान कार्यक्रम” अन्तर्गत आयोजित तालिमले
स्थानीय स्तरमै माटो परीक्षण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको नगरपालिकाले
जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
रविन कार्कीका अनुसार कृषकलाई वैज्ञानिक खेतीतर्फ उन्मुख गराउन र माटोको अवस्था
अनुसार मल व्यवस्थापन गर्न सक्ने दक्ष जनशक्ति तयार गर्न तालिम सञ्चालन गरिएको हो।
तालिममा सहभागीहरूलाई माटो नमुना
संकलन, संरक्षण, पीएच परीक्षण, पोषक तत्वको अवस्था
विश्लेषण तथा परीक्षण प्रतिवेदनका आधारमा मल व्यवस्थापन गर्ने विधिबारे प्रशिक्षण
दिइने कृषि प्राविधिक हिम थापाले जानकारी दिनुभयो। सहभागीहरूले प्रयोगात्मक
अभ्यासमार्फत माटो परीक्षण उपकरण सञ्चालन गर्ने अवसर पनि पाउनेछन्।
कार्यक्रम उद्घाटन गर्दै नगर
उपप्रमुख जमुना मगर कार्कीले माटो परीक्षणलाई कृषि उत्पादन वृद्धिको महत्वपूर्ण
आधारका रूपमा व्याख्या गर्नुभयो। “माटोको आवश्यकता नबुझी
गरिने मलखादको प्रयोगले लागत बढाउँछ तर उत्पादन बढाउँदैन,” उहाँले भन्नुभयो, “माटो परीक्षणपछि
मात्र आवश्यक पोषक तत्वको जानकारी प्राप्त हुन्छ र त्यसका आधारमा खेती गर्दा
उत्पादन र आम्दानी दुवै बढाउन सकिन्छ।”
कृषि विज्ञहरूका अनुसार पछिल्लो समय
रासायनिक मलको अव्यवस्थित प्रयोगका कारण धेरै ठाउँमा माटोको गुणस्तर खस्कँदै गएको
छ। माटो परीक्षणको संस्कृति विकास गर्न सके उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा
वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
लालीगुराँस नगरपालिकाले तालिमपछि
सहभागीहरू आफ्ना वडामा पुगेर कृषकलाई माटो नमुना संकलन, परीक्षण तथा
प्रतिवेदनको प्रयोगबारे सहजीकरण गर्ने जनाएको छ । यसले गाउँगाउँमा वैज्ञानिक
खेतीको अभ्यास विस्तार हुनुका साथै कृषकलाई माटोको स्वास्थ्य बुझेर खेती गर्ने
बानी विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको पालिकाले जनाएको छ।