परम्परागत
कृषि प्रणालीलाई प्रविधिसँग जोड्दै उत्पादन वृद्धि र कृषकको श्रम घटाउने
उद्देश्यले म्याङलुङ नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिएको छ
। नगरपालिकाले कृषकलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउँदै खेती प्रणालीलाई सहज, कम खर्चिलो र प्रभावकारी बनाउने अभियान अघि बढाएको नगरप्रमुख संजय कुमार
तुम्बाहाङ्फेले तुम्बाहाम्फेले बताउनु भयो।
कृषि
क्षेत्रमा बढ्दो जनशक्ति अभाव र उत्पादन लागत न्यूनीकरण गर्ने उद्देश्यले
नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा २५२ थान कृषि उपकरण कृषकलाई वितरण गरेको
छ। जसअन्तर्गत २३३ वटा हाते ट्याक्टर र १९ वटा कम्बाइन्ड मिल कृषकलाई उपलब्ध
गराइएको पालिकाले जनाएको छ।
नगरपालिकाको
कृषि शाखाका अनुसार वडा नं. ४, ६, ८ र ९ को बजेट तथा पालिकाको नियमित कार्यक्रममार्फत उपकरण खरिद गरी
वितरण गरिएको हो। नगरपालिकाका नौवटै वडामा उपकरण वितरण सम्पन्न भइसकेको छ भने वडा
नं. ४ का लागि थप ४३ वटा हाते ट्याक्टर वितरणको तयारी भइरहेको कृषि शाखा अधिकृत
सरु खड्काले बताउनुभयो।
म्याङलुङ
नगरपालिकाका प्रमुख संजय कुमार तुम्बाहाङ्फेले कृषि क्षेत्रलाई आत्मनिर्भर र
उत्पादनमुखी बनाउन यान्त्रीकरण आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो
समय ग्रामीण क्षेत्रमा कृषि श्रमिकको अभाव बढ्दै गएकाले आधुनिक उपकरणको प्रयोगले
किसानलाई ठूलो राहत पुग्नेछ।
“कृषिलाई परम्परागत
शैलीबाट आधुनिक र व्यवसायिक प्रणालीमा लैजान प्रविधिको प्रयोग आवश्यक छ। हाते
ट्याक्टरको प्रयोगले समय र श्रम बचत हुनुका साथै उत्पादन लागत घटाउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो।
नगरपालिकाले
कृषि यान्त्रीकरणसँगै रैथाने बाली संरक्षण र प्रवद्र्धनलाई पनि प्राथमिकतामा
राखेको छ। कोदो, फापर, गहुँ, जौलगायतका स्थानीय बालीको उत्पादन तथा प्रशोधनमा सहजता ल्याउन
कम्बाइन्ड मिल वितरण गरिएको नगर प्रमुख तुम्बाहाङ्फेले बताउनुभयो।
“रैथाने बाली हाम्रो
पहिचान र पोषणसँग जोडिएको विषय हो। तर प्रशोधनमा लाग्ने बढी श्रमका कारण किसानको
आकर्षण घट्दै गएको छ। त्यसैले बिउ संरक्षण, उत्पादन प्रवद्र्धन र
प्रशोधन प्रविधिमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो।
आधुनिक
उपकरण पाएपछि कृषकहरू पनि उत्साहित भएका छन्। म्याङलुङ–१ भदौरेका कृषक ठगेन्द्र
भण्डारीले हाते ट्याक्टरले खेतीको काम सहज बनाएको बताउनुभयो। उहाँका अनुसार एउटा
हाते ट्याक्टरले धेरै परिवारको खेत जोत्न सकिने भएकाले किसानलाई गोरु पाल्नुपर्ने
बाध्यता कम भएको छ।
“गोरु पाल्न खर्चिलो हुने
र समय पनि धेरै लाग्ने अवस्था थियो। अहिले हाते ट्याक्टर भएपछि खेती गर्न सहज भएको
छ,” भण्डारीले भन्नुभयो।
त्यस्तै
म्याङलुङ–१० ओख्रे तम्फुलाकी ईश्वरीमाया खड्काले कम्बाइन्ड मिल पाएपछि कोदो
प्रशोधन र बेसार कुट्ने काम सहज भएको बताउनुभयो। “आफैँले खरिद गर्न ठूलो रकम आवश्यक पर्थ्यो। नगरपालिकाको सहयोगले आधुनिक उपकरण प्रयोग गर्ने अवसर मिलेको छ,” उहाँले भन्नुभयो।
कृषि
यान्त्रीकरण, रैथाने बाली संरक्षण र किसानमैत्री कार्यक्रममार्फत म्याङलुङ
नगरपालिकाले कृषिलाई आधुनिक, उत्पादनमुखी र व्यवसायिक
बनाउने लक्ष्य लिएको छ। प्रविधिको प्रयोग बढेसँगै स्थानीय किसानको मेहनत घट्ने र
कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको पालिकाले जनाएको छ।