काठमाडौं। चलचित्र विकास बोर्डले
आफ्नो २६औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउँदै नेपाली चलचित्र उद्योगलाई
डिजिटल प्रविधिसँग जोड्ने नयाँ पहल सार्वजनिक गरेको छ। वार्षिकोत्सवका अवसरमा
बोर्डले ‘सिनेपाः’ एप सार्वजनिक गर्नुका साथै वार्षिक गतिविधि समेटिएको पुस्तक
र प्रकाशनको विमोचन गरेको हो।
समारोहलाई सम्बोधन गर्दै सूचना तथा
सञ्चारमन्त्री विक्रम
तिमिल्सिनाले चलचित्र क्षेत्रका समस्या समाधान र उद्योगको विकासका लागि सरकार
प्रतिबद्ध रहेको बताए। उनले निर्माणाधीन चलचित्रसम्बन्धी कानुन र नीतिमा चलचित्रकर्मीका
सुझाव समावेश गरिने उल्लेख गर्दै बोर्डलाई उद्योगको नेतृत्वदायी संस्थाका रूपमा
प्रभावकारी भूमिका खेल्न आग्रह गरे।
वार्षिकोत्सवका अवसरमा बोर्डले
स्टोरी बोर्डबाट छनोट भएको चलचित्र सुरिलो रुख लाई निर्माण सहायतास्वरूप ४
लाख रुपैयाँ हस्तान्तरण गरेको छ। साथै, दुई कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
बोर्डले स्थापना भएयता ७ करोड
रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली चलचित्रको सूची पनि सार्वजनिक गरेको छ।
सूचीमा
‘पूर्णबहादुरको
सारङ्गी, ‘कबड्डी ४, ‘जारी, ‘१२
गाउँ, ‘छक्का पन्जा श्रृंखला, ‘महाजात्रा, ‘महापुरुष, ‘प्रेमगीत
३ लगायतका
चलचित्र समावेश छन्।
यसै अवसरमा सगरमाथा आरोहण गर्ने
कलाकार
निशा अधिकारी, अर्जुन
कार्की, कविता नेपाली, रोजिता
बुद्धाचार्य र निलम पौडेललाई सम्मान गरिएको थियो भने
विशिष्ट, विशेष तथा चलचित्रकर्मी
श्रेणीका परिचयपत्रसमेत वितरण गरिएको थियो।
बोर्डका
अध्यक्ष
दिनेश डीसीले डिजिटल रूपान्तरण, चलचित्रको अभिलेखीकरण, चलचित्रकर्मीको सम्मान तथा
सिर्जनात्मक परियोजनाको प्रवर्द्धनलाई आगामी प्राथमिकतामा राखेर अघि बढ्ने
प्रतिबद्धता व्यक्त गरे।


