तेह्रथुम। राष्ट्रिय धान दिवस २०८३
को अवसरमा तेह्रथुमको लालीगुराँस नगरपालिका–६ सुङनामको माझखर्कमा धान रोपाइँसँगै
हराउँदै गएको परम्परागत बेठी संस्कृतिलाई पुनर्जीवित गर्ने
प्रयास गरिएको छ।
पूर्णिमाका कारण धान दिवसको
भोलिपल्ट आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक र सर्वसाधारण सामूहिक रूपमा खेतमा उत्रिएका
थिए। असारे भाका,
नौमती बाजा र
सामूहिक श्रमको वातावरणले पुरानो गाउँले जीवनको झल्को दिएको थियो।
नगरप्रमुख अर्जुन माबोहाङले बेठी
केवल धान रोप्ने परम्परा नभई गाउँको सामाजिक एकता, सहकार्य र मौलिक पहिचानको प्रतीक भएकाले नयाँ
पुस्तामा हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको बताए।
७६ वर्षीया स्थानीय अजिमाया
खत्रीले पहिले गाउँभरिका मानिस एकै ठाउँमा भेला भएर गीत गाउँदै धान रोप्ने परम्परा
रहेको स्मरण गर्दै अहिले त्यसको पुनः झल्को देख्न पाउँदा खुसी लागेको बताइन्।
स्थानीय ओममाया बरालले पनि वर्षौंपछि बेठीमा सहभागी हुँदा बाल्यकालका सम्झनाहरू
ताजा भएको सुनाइन्।
कृषि प्राविधिक हिमबहादुर थापाका
अनुसार स्थानीय बाली, परम्परागत
कृषि ज्ञान र संस्कृतिको संरक्षणले भावी पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्न
मद्दत पुग्नेछ।
समयसँगै बसाइँसराइ, वैदेशिक
रोजगारी, आधुनिक कृषि प्रविधि र
बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बनेको बेठीलाई पुनर्जीवित गर्ने लालीगुराँस
नगरपालिकाको पहललाई स्थानीयले संस्कृति संरक्षणको महत्वपूर्ण अभियानका रूपमा लिएका
छन्।


