तेह्रथुम, २३औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र तेह्रथुमले जिल्लाभरिका उत्कृष्ट धान उत्पादक कृषकलाई सम्मान गर्दै कृषि उत्पादन वृद्धि र कृषकको मनोबल अभिवृद्धि गर्ने प्रयास गरेको छ।
सोमबार म्याङलुङ नगरपालिका–१० खाल्डेमा आयोजित रोपाइँ महोत्सव तथा सम्मान कार्यक्रममा जिल्लाका छवटै स्थानीय तहबाट उत्कृष्ट ठहरिएका एक–एक जना गरी छ जना धान उत्पादक कृषकलाई नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो। सम्मानित कृषकले जनही चार हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।
सम्मानित हुने कृषकमा छथर गाउँपालिकाका चन्द्रबहादुर लिम्बू, फेदाप गाउँपालिकाका प्रेमबहादुर कार्की, मेन्छ्यायेम गाउँपालिकाका रुद्रबहादुर कार्की, आठराई गाउँपालिकाका राजेन्द्रकुमार डाँगी, म्याङलुङ नगरपालिकाका देवेन्द्र खवास तथा लालीगुराँस नगरपालिकाका डम्बरबहादुर कार्की रहेका छन्।
उनीहरूले गत मंसिरमा ८५ देखि ११० मुरीसम्म धान उत्पादन गरी जिल्लामै उत्कृष्ट उत्पादन गर्न सफल भएका थिए। प्रमुख जिल्ला अधिकारी बन्दना राई, म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फे तथा उपप्रमुख जमुना कार्की सुवेदीलगायतले उनीहरूलाई सम्मान गरेका थिए।
कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईका अनुसार जिल्लामा हाल ६ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यस वर्ष असार १५ गतेसम्म दुई हजार एक सय ८८ हेक्टर अर्थात् ३३ दशमलव ०९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ।
उनका अनुसार समयमै वर्षा भएकाले जिल्लाको माथिल्लो भेगमा रोपाइँ तीव्र रूपमा अघि बढेको छ। तल्लो भेगमा भने मकै भित्र्याइसकेपछि धान रोप्ने चलन भएकाले रोपाइँ क्रमशः विस्तार भइरहेको छ।
गत वर्ष पर्याप्त वर्षा नहुँदा जिल्लामा ६ हजार २ सय ८४ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको थियो। यस वर्ष अनुकूल मौसमका कारण उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
तेह्रथुममा लालीगुराँस नगरपालिकाको कालीमाटी, मेन्छ्यायेम गाउँपालिकाको सम्दु, इसिबु र जलजलेका तल्लो क्षेत्र तथा आठराई गाउँपालिकाको सक्रान्ती र डाँडागाउँ धान उत्पादनका प्रमुख क्षेत्रका रूपमा परिचित छन्।
जिल्लामा परम्परागत रूपमा 'बेलकुटी' जातको धान बढी खेती गरिने भए पनि पछिल्ला वर्षहरूमा कृषि अनुसन्धानबाट विकास गरिएका खुमल–४, खुमल–१० लगायत उन्नत जातका धानको खेती पनि विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।


