तेह्रथुम । दलित समुदायलाई
आफ्ना अधिकार, अवसर र
राज्यबाट प्राप्त हुने सेवा–सुविधाबारे सचेत बनाउने उद्देश्यले छथर गाउँपालिकाले
दलित सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरेको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न
कार्यक्रममा विभिन्न वडाका दलित समुदायका महिला, पुरुष तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता
रहेको थियो। कार्यक्रममा संविधानले सुनिश्चित गरेका अधिकार, सामाजिक समावेशीकरण, नेतृत्व विकास, क्षमता अभिवृद्धि
तथा स्थानीय तहबाट उपलब्ध सेवा–सुविधासम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले दलित
समुदायलाई अझै पनि सामाजिक विभेद, असमानता र अवसरको अभावजस्ता चुनौतीहरूले प्रभावित गरिरहेको
उल्लेख गर्दै अधिकारप्रति सचेत र संगठित बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले
शिक्षा, सीप, रोजगारी र नेतृत्व
विकासमार्फत समुदायलाई सशक्त बनाउन आवश्यक रहेको धारणा राखेका थिए।
गाउँपालिकाका प्रवक्ता राजन नेपालीका
अनुसार कार्यक्रममा स्थानीय सरकारबाट प्रदान गरिने विभिन्न सेवा, सामाजिक सुरक्षा
कार्यक्रम, सीप विकास
तथा आयआर्जनका अवसरबारे जानकारी गराइएको थियो। साथै दलित समुदायको हकअधिकार
सुनिश्चित गर्न कानुनी व्यवस्थाहरू तथा राज्यका विभिन्न निकायबाट प्राप्त गर्न
सकिने सहयोगबारे समेत छलफल गरिएको थियो।
गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले
यस्ता कार्यक्रमले दलित समुदायलाई आफ्नो अधिकार, अवसर र जिम्मेवारीबारे सचेत बनाउँदै विकासको
मूलधारमा जोड्न मद्दत पुग्ने बताउनुभयो। उहाँले समुदायको सशक्तीकरण बिना समावेशी
विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारले यस क्षेत्रलाई प्राथमिकतामा
राखेको जानकारी दिनुभयो।
छथर गाउँपालिकाले आगामी दिनमा पनि
दलित समुदायको क्षमता विकास, सीप अभिवृद्धि, आयआर्जन प्रवर्द्धन तथा सामाजिक सशक्तीकरणका
कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यसैगरी सबै समुदायको समान सहभागितामा
समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन
भइरहेका गाउँपालिकाले जनाएको छ।