तेह्रथुम । जिल्ला खेलकुद विकास समिति
तेह्रथुमका नवनियुक्त अध्यक्ष राजकुमार नेपालले बुधवार पदभार ग्रहण गरेका छन्। पदभार
ग्रहणसँगै उनले जिल्लाको खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेर काम
गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग
संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले खेलाडी, प्रशिक्षक, खेल संघ तथा सरोकारवाला निकायसँग
सहकार्य गर्दै जिल्लाको खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने बताए।
उनले तेह्रथुममा लुकेर रहेका खेल
प्रतिभाको पहिचान,
संरक्षण र
प्रवर्द्धन गर्दै युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने योजनाका साथ अघि बढ्ने
उल्लेख गरे। सीमित स्रोत र साधनका बाबजुद सबै पक्षसँग समन्वय गरेर खेलकुद
पूर्वाधार विकास,
प्रतियोगिताको
नियमित आयोजना तथा खेलाडीको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइने उनको भनाइ थियो।
अध्यक्ष नेपालले खेलकुदलाई अनुशासन, स्वास्थ्य र सामाजिक एकताको
माध्यमका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सम्बन्धित सबै निकायको
सहयोग र सहकार्य आवश्यक रहेको धारणा राखे।
उनले जिल्ला खेलकुद विकास समितिलाई
पारदर्शी, उत्तरदायी र परिणाममुखी
बनाउँदै खेलाडीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाए।
पदभार ग्रहण कार्यक्रममा समिति पदाधिकारी, विभिन्न खेल संघका प्रतिनिधि, खेलाडी, प्रशिक्षक तथा सरोकारवालाको
उपस्थिति रहेको थियो। उपस्थितहरूले नवनियुक्त अध्यक्ष नेपाललाई सफल कार्यकालको
शुभकामना व्यक्त गर्दै जिल्लाको खेलकुद विकासमा प्रभावकारी नेतृत्वको अपेक्षा गरेका
छन्।