काठमाडौं। पछिल्ला दिनमा देशका विभिन्न भागमा बारम्बार बत्ती जाने (ट्रिपिङ) समस्या
बढ्दै गएपछि सरकारले यसको मुख्य कारण पुरानो विद्युत् पूर्वाधार रहेको निष्कर्ष
निकालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले
विद्युत् वितरण प्रणालीमा देखिएको संरचनागत समस्या समाधान गर्न प्राविधिक तथा
व्यवस्थापकीय सुधारलाई तीव्र बनाउने तयारी गरेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सातै प्रदेशका
प्रमुख तथा नेपाल विद्युत् प्राधिकरणका डिभिजन कार्यालयका नेतृत्वसँग भर्चुअल छलफल
गर्दै अहिले देखिएको समस्या मौसमी नभई संरचनागत रहेको बताएका छन्। उनका अनुसार
दशकौँअघि निर्माण गरिएको वितरण सञ्जालमा बढ्दो विद्युत् मागको चाप पर्दा ट्रिपिङको
समस्या जटिल बन्दै गएको हो।
मन्त्री श्रेष्ठले यस अवस्थालाई ‘पूर्वाधारको रोग’को
संज्ञा दिँदै तार, ट्रान्स्फर्मर, फिडर तथा सबस्टेसनसहित सम्पूर्ण वितरण प्रणालीको
स्तरोन्नति अपरिहार्य रहेको बताए। उनले पूर्वाधार विस्तारसँगै दक्ष जनशक्ति विकास
र व्यवस्थापन सुधारलाई पनि समान प्राथमिकता दिनुपर्ने उल्लेख गरे।
मन्त्रालयले पछिल्ला दुई तीन वर्षमा जडान गरिएका केही ट्रान्स्फर्मर तथा अन्य विद्युतीय उपकरणको
गुणस्तरबारे समेत अध्ययन गरिरहेको जनाएको छ। अपेक्षाअनुसार कार्यक्षमता नदेखिएको
भन्दै उपकरणको गुणस्तर परीक्षण र आवश्यक सुधार प्रक्रिया अघि बढाइएको मन्त्रालयको
भनाइ छ।
यस्तै, बजेट अभाव वा खरिद प्रक्रियाको जटिलताका कारण मर्मत तथा प्रतिस्थापनका काम
प्रभावित नहोस् भनेर क्षेत्रीय, डिभिजन तथा
शाखा कार्यालयलाई आवश्यक निर्णय गर्न सक्ने अधिकार प्रत्यायोजन गर्ने तयारी पनि
भइरहेको छ।
विद्युत् सेवा थप भरपर्दो बनाउन मन्त्री श्रेष्ठले
मर्मत, विद्युत् कटौती तथा अन्य
प्राविधिक कार्यबारे उपभोक्तालाई संचारमाध्यम र सामाजिक संजालमार्फत समयमै जानकारी
गराउन निर्देशन दिएका छन्। ग्राहकका गुनासोलाई तत्काल सम्बोधन गर्दै सेवाप्रदायक
निकायलाई थप जिम्मेवार बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
मन्त्रालयका अनुसार हटलाइन नम्बर ११५० र ११५१ मा आउने
गुनासो तत्काल समाधान गर्ने अभियान संचालन भइरहेको छ। तर, गुनासो समाधान गर्नु मात्र नभई भविष्यमा गुनासो आउनै
नपर्ने गरी विद्युत् प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ सुधारका कार्यक्रम
अघि बढाइएको छ।