तेह्रथुम। याक्थुङ (लिम्बू) समुदायको मौलिक सभ्यता, मुन्धुम, इतिहास र भाषाको संरक्षण तथा पुस्तान्तरणका विषयमा केन्द्रित आधारभूत चुम्लुङ तेह्रथुमको फेदाप गाउँपालिकामा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको चुम्लुङले याक्थुङ समुदायको सांस्कृतिक पहिचान, भाषिक विविधता र ऐतिहासिक सम्पदाको संरक्षणमा नयाँ बहस र चासो सिर्जना गरेको छ।
फेदाप गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रम फेदाप गाउँपालिका–५ पोक्लाबाङको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ फेदाप, तेह्रथुमको व्यवस्थापनमा सञ्चालन गरिएको थियो। कार्यक्रममा फेदाप क्षेत्रका १९ थरी लिम्बू समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
चुम्लुङमा मुन्धुमविद् डि.बी. आङबुङले मुन्धुमको परिचय, यसको प्रकार, सृष्टि मुन्धुम, फेदापे मुन्धुम, मुन्धुम र इतिहासबीचको सम्बन्ध तथा फेदापे भाषिकाका विषयमा सहजीकरण गर्नुभयो। यस्तै मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले फेदापको इतिहास, याक्थुङ सभ्यताको विकासक्रम तथा मुन्धुमको सामाजिक महत्वबारे प्रशिक्षण दिनुभयो।
कार्यक्रममा लिम्बू समुदायभित्र प्रचलित फेदापे, पान्थरे, छथरे र तम्बरखोले भाषिकाको अवस्थाबारे पनि विस्तृत छलफल भएको थियो। सहभागीहरूले हालसम्म लिम्बू भाषाको पाठ्यक्रम मुख्यतः पान्थरे भाषिकामा आधारित रहेकाले अन्य भाषिका बोलिने क्षेत्रमा भाषा शिक्षणमा समस्या देखिएको बताएका थिए। उनीहरूले स्थानीय भाषिकालाई आधार बनाएर पाठ्यक्रम तथा शैक्षिक सामग्री विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
फेदाप गाउँपालिकाकी उपाध्यक्ष सुनिता पाहिमका अनुसार चुम्लुङको उद्देश्य याक्थुङ समुदायको मौलिक ज्ञान, इतिहास, भाषा र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै संरक्षणका लागि साझा धारणा निर्माण गर्नु हो।
कार्यक्रमका क्रममा फेदाप क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वका विषयमा पनि चर्चा भएको थियो। विशेषगरी पोक्लाबाङ क्षेत्र सातरेनुहाङ तथा १९ थरी लिम्बू समुदायसँग सम्बन्धित महत्वपूर्ण सांस्कृतिक स्थल भएकाले यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने विषय उठाइएको थियो।
फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले स्थानीय भाषिका संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै स्थानीय भाषिकामै पाठ्यपुस्तक निर्माणका लागि आवश्यक पहल गरिने जानकारी दिनुभयो। गाउँपालिकाले भाषा, लिपि तथा संस्कृतिको संरक्षणका लागि वार्षिक १८ देखि २० लाख रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको पनि उहाँले बताउनुभयो।
सहभागीहरूले भाषा, संस्कार, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार यस्ता चुम्लुङले समुदायको मौलिक पहिचान जोगाउन, भाषा संरक्षण गर्न र नयाँ पुस्तामा सांस्कृतिक चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउँछन्।
दुई दिनसम्म चलेको चुम्लुङ शनिबार उपाध्यक्ष सुनिता पाहिमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमले याक्थुङ सभ्यताको अध्ययन, संरक्षण र प्रवर्द्धनका लागि थप सहकार्य र अनुसन्धानको आवश्यकता औँल्याउँदै भविष्यका लागि महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ छ।